९ असोज ०७७, रौतहट । जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।
रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुख रौनियारलाई बोलाइए पनि रौनियार अनुपस्थित भएपछि जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको हो ।
रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले डुंगा दुर्घटनाका बिषयमा केही कुरा बुझ्न भनी बोलाउँदा रौनियारले अटेर गरेकाले उनलाई पक्राउ पुर्जी जारी गरिएको बताए ।
भदौ ९ गते टिकुलियामा रहेको लाल बकैया नदीमा २९ जना सवार डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने २४ जना पौडिएर बाचेका थिए ।
घाटको पुल निर्माण गर्न २०७१ साल असार २९ गतेबाट सुरु गरेपनि अन्तिम समय २०७४ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि हालसम्म करिव आधा काम पनि हुनसकेको छैन ।
१६ करोड ८६ लाखको लागतमा निर्माण हुने २२५ मिटर लामो पुलकोे शिलान्यास २०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए ।