५ फागुन, राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्षहरुले पत्रकार महासंघमा रहेको विवादलाई वार्ता, सम्वाद र छलफलका माध्यमबाट सहज बनाउन आग्रह गरेका छन् ।
महांघका पूर्व अध्यक्षहरु शिवहरी प्रसाद भट्टराई, विष्णुकुमार मण्डल, बैद्यनाथ झा, मुरलीप्रसाद यादव, शम्भुकुमार झा, व्यासशंकर उपाध्याय र धीरेन्द्रप्रसाद साहले संयुक्त वक्तव्य जारी गरी शाखाको अविधेशन विवाद छलफलका माध्यमबाट सहज बनाउन आग्रह गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरी विवादका कारण अन्यौल अवस्था रहेको छ । पूर्वअध्यक्षहरुले जारी गरेको वक्तव्यमा अन्यौल र असहजतालाई लम्ब्याउँदा सांगठनिक गतिविधिदेखि सप्तरीमा पत्रकारहरुको हक, अधिकार, सुरक्षा लगायत कार्य प्रभावित भइरहने अवस्था सिर्जना भएको जनाएको छ ।
उनीहरुले कार्यसमिति बीच करिब २ वर्ष यता उत्पन्न विवादका कारण महासंघले खेल्नुपर्ने भूमिकामा समेत प्रभाव पर्दै आएकाले यस्तो असहजतालाई लम्ब्याउनुभन्दा पनि शीघ्र समाधान गर्दा नै सांगठनिक क्रियाकलापदेखि पत्रकारहरुको कल्याणकारी कार्य सुचारु हुनेमा जोड दिएका छन् ।
आगामी फागुन ७ गतेका लागि घोषित महासंघको शाखाको अधिवेशनका लागि पहिले विवाद अन्त्य अन्त्यका लागि वार्ता र छलफल अघि बढाउन समन्वयकारी भूमिका निभाउन महासंघको केन्द्रीय कार्य समिति समक्ष आग्रह गरेका छन् ।
‘शुन्य अवस्थाबाट सुरुभएको महासंघ सप्तरी शाखाको भौतिक तथा सांगठनिक अवस्था आज निकै झाँङ्गिसकेको छ’ वक्तव्यमा भनिएको छ, ‘जसमा अग्रज पत्रकारहरुको योगदानलाई कदापि बिर्सन सकिन्न । आफुहरुको इतिहास पनि कुनै न कुनै रुपले यसै शाखासित जोडिएको वास्तविकता समेतलाई मनन् गर्दै यो संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छौं ।’
उनीहरुले संस्थाको भविष्य सुनिश्चिततालाई प्राथमिकतामा राखेर समझदारीको मार्ग प्रशस्त गर्ने पवित्र काममा लाग्न आग्रह गर्दै आफूहरुको समेत आवश्यकता बोध भए सधैं समन्वय गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।