६ असोज ०७५, काठमाडौंं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंको विभिन्न साइत सार्वजनिक गरेको छ ।
असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत निकालेको छ ।
असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न राम्रो हुने हुँदा झण्र्डा पश्चिम फर्केर फेर्नु राम्रो हुनेछ ।
असोज २८ गते आइतबार पचली भैरव यात्रा, असोज ३० गते मंगलबार फूलपाती भित्र्याइने, बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइनुका साथै १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिनेछ ।
असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैंको टीका परेको छ ।
विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत दिइएको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि बडादसैँ समापन हुनेछ ।