१७ चैत ०७६, काठमाडौं । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ सय १७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ५ जनामा मात्रै रिपोर्ट पोजेटिभ देखिएको बताएका छन् ।
प्रवक्ता डा. विकास देवकोटाले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा गरिएको नमुना परीक्षणमा कुनै पनि व्यक्तिमा कोभिड १९ को रिर्पोट पोजेटिभ नदेखिएको बताएका हुन् ।
काठमाडौं उपत्यकामा १२ जना आइसोलेसनमा उपचाररत रहेको जानकारी दिँदै प्रवक्ता देवकोटाले शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २ जना कोरोना संक्रमित व्यक्तिसहित ५ जना, पाटनमा ६ र कान्तिबाल अस्पतालमा १ जना आइसोलेसनमा उपचाररत रहेको बताए ।
पछिल्लो ५ दिनमा कोरोना संक्रमण देखिएका सबैको अवस्था सामान्य रहेको बताउँदै उनले विदेशबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
यसैबीच गम्भीर अवस्थाका कुनै पनि बिरामीलाई अस्पतालले भर्ना गर्नुपर्ने बताउँदै प्रवक्ता देवकोटाले यदि बिरामीलाई भर्ना गर्न नमान्ने अस्पताललाई कारबाही गरिने पनि बताए ।