१६ कार्तिक ०७५, काठमाडौं । नेपाली कांग्रेसकोे चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कांग्रेसले शुक्रबार विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।
चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
चियापानमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेताहरु पुगेका थिए ।
आमन्त्रित अथितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौड्याल महामन्त्री शशांक कोइराला, प्रकाशमान सिह, कोषध्यक्ष सितादेवि यादबलगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरुलाई आमन्त्रित गरिएको थियो ।
विसं २०३३ मा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कांगे्रसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।