नेकपाले मधेशको समृद्धिको योजना बनाइरहेको नेपालको भनाइ

३ भदौ ०७५, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले मधेशको समृद्धि र विकासका लागि पार्टीले विकासका योजनाहरु बनाइरहेको बताएका छन् ।

नेकपाले आइतबार रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

सातवटै प्रदेशलाई समुन्नतीको पथमा लैजाने दायित्व नेकपाको काँधमा रहेको भन्दै नेता नेपालले मुलुकलाई समृद्धितर्फ उन्मुख गराउनुको विकल्प नरहेको बताए ।

उनले पूर्व–पश्चिम राजमार्ग चौडीकरण, निजगढ काठमाडौं फास्टट्रयाक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक कोरिडोर, रेल्वे ट्रयाक, कोशी कमलाको पानी डाइभर्ट गरेर नहरहरु निर्माण गरी किसानहरुलाई सिंचाइको समुचित व्यवस्थापन लगायत मधेशलाई विकसित गराउन ठूल्ठूला परियोजनाहरु सञ्चालनमा रहेको बताए ।

प्रदेश नम्बर २ को मधेशमा विधिको शासन कायम गराउन प्रदेश सरकार तत्पर भएर लाग्नु पर्ने भन्दै उनले मधेशको कायापलट गराउने कार्यलाई केन्द्र सरकारबाट विभिन्न योजनालाई सञ्चालनमा ल्याएर अगाडि बढनु पर्नेमा जोड दिए ।

तपाइको मत