८ बैशाख ०७५, काठमाडौं । प्रहरीले नेपाल कम्युनियष्ट पार्टी(विप्लव समूह) का दुईजना विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।
शुक्रबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट गएको गस्ती टोलीले हरिहरपुरगढी गाउँपालिका ६ को कौवाडाडाबाट विस्फोटक पदार्थ तथा अन्य सामाग्री सहित पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका १० का २२ वर्षीय राजन बस्नेत र हरिहरपुरगढी गाउँपालिका ७ का पूर्णबहादुर भुजेल रहेका छन् । बस्नेत उक्त समूहका विद्यार्थीका केन्द्रिय सदस्य हुन् भने भुजेल जिल्ला अध्यक्ष छन् ।
उनीहरुको साथबाट प्रहरीले जिलेटिन(नियोजेल ९०) ५७ वटा, डेटकर्ड तार २ मिटर , डिजिटल मल्टिमिटर २ थान, डेटोनेटर ३ पीस, कैंची १ थान, मोबाइल २ थान, बा ३८ प ४२८६ नम्बरको पल्सर मोटरसाइकल, क्यानखोला नियन्त्रण उपभोक्ता समितिको छाप, र तीनहजार ८ सय नगद सहित बरामद गरिएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
मरिण गाउँपालिकामा रहेको एनसेलको टावर तथा जनप्रतिनिधिहरुलाई राजिनामा दिन धम्की सहितको पत्र विप्लव समूहले गर्न थालेपछि ‘सर्च एण्ड एरेष्ट’को रणनीति लिएर रेकी गर्दै उनीहरुलाई पक्राउ गर्न सफल भएको डीएसपी शर्माले बताए । प्रहरीले यसअघि सोही समूहका तीनजनालाइ पक्राउ गरिसकेको छ ।