२ असार ०७५, काठमाडौं । डा. गोविन्द केसीले मुखमा टेप लगाएर निषेधित क्षेत्र घोषणा अवज्ञा गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
शनिबार डा. केसीले स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको विरोधमा प्रदर्शन गरेका हुन् ।
डा. केसीले मुखमा टेप लगाएर माइतीघर चोकमा उभिएर ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ र अर्को हातमा ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ भन्ने प्ले कार्ड बोकेका थिए ।
उनले आफूहरुको आन्दोलनको बलमा गोपाल पराजुलीहरु र लोकमान सिंह कार्की ढलेको जिकिर गर्दै उनीहरु त पात्र मात्र भएको मुख्य पात्र दलका नेताहरु भएको दाबी गरे ।
डा. केसीले सरकारले नागरिकको मुख थुन्न माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको बताए । उनले भ्रष्टाचार, वेथिती विरुद्ध आफ्नो आन्दोलन जारी रहेको बताए ।