२३ साउन ०७९, काठमाडौं । गृह मन्त्रालयले नेपाली नागरिकता प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द प्रयोग नगर्न विज्ञप्ति नै जारी गरेको छ ।
यसअघि विभिन्न जिल्लाहरुबाट जारी भएका नागरिकतामा अपमानजनक शब्द प्रयोग गरी जारी भएको समाचार, सूचना र जानकारीप्रति सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै गृहले सोमबार विज्ञप्ति नै जारी गरेर नागरिकताको प्रमाणपत्रमा अपमानजनक शब्द प्रयोग नगर्ने भनेको हो ।
“अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाण पत्र जारी नगर्ने,” गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्र सम्बनिधत व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।”
नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको भन्दै सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखेको पाइएकाले त्यस्ता नाम सच्याउन गृह मन्त्रालयलाई आग्रह गरेका थिए ।
उनले दलित समुदायलाई नागरिकता दिने बेलामा कर्मचारीले कुत्ता कामी, फ्याउरो वादी, कुकुर्नी कामी नाम लेखिदिएको उदाहरण समेत दिँदै यसको जिम्मेवार को हो ? भनी प्रश्न समेत गरेका थिए ।