२८ मंसिर ०७९, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित घरटहरा भत्काउन सुरु गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सिको गर्दै नरैनापुरले पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरेको हो ।
गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नं. १ का अध्यक्ष इसाक जोहलले बताए । उनले भने, ‘अतिक्रमण गरी बनाएको घर भत्काउन पटकपटक लिखित जानकारी गराइए तापनि घर नभत्काएपछि डोजर लगाएर भत्काउन बाध्य भएका हौँ ।’
गाँउपालिका क्षेत्रभित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउने बताउँदै पालिकालाई ब्यवस्थित बनाउने लक्ष्य अनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
उनले भने, ‘सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन जोकसैले नियम मिचेर बनाएको संरचना गाँउपालिकाले क्रमशः भत्काउँदै जानेछ ।’
पालिकाले गाँउको सडक साँघुरो हुँदै गएपछि व्यवस्थित सडक विस्तार गर्ने उद्देश्यका साथ प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरेको हो ।