२० भदौ ०७५, काठमाडौं । प्रहरीले नारायणगढबाट सुन, चाँदी र नगदसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिएको छ ।
मंगलबार अवैध रुपमा किनेर बेच्न राखेको आरोपमा नारायणगढ पुतलीबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलका सञ्चालक भारत महाराष्ट्र घर भएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई दुई किलो ७६ ग्राम सुन, चार किलो ६१७ ग्राम चाँदी र रु १२ लाख नगदसहित सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले प्रहरीको ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले सुराकीको आधारमा खोजतलास गर्दा उक्त परिमाणको सुन, चाँदी र नगद बरामद गरिएको बताए ।
पाटिलले उक्त सुन एक भारतीय नागरिकबाट खरीद गरेको बयानमा बताएका छन् ।
बरामद गरिएको सुन रसुवा जिल्लास्थित तिब्बतसँग जोडिएको नाका हुँदै अवैधरुपमा भित्रिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । नियन्त्रणमा लिइएको सुन, चाँदी बजार मूल्यअनुसार रु एक करोड बराबरको रहेको राठौरले बताए ।