१७ असार ०७५, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले नदी आसपासका जनतालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले चुरे र महाभारतबाट बग्ने नदीमा बाढीको उच्च सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै महाशाखाले गोरखा, धादिङ, लम्जुङ, कास्कीका केही स्थानहरूमा भारी बर्षाको संभावना भएकाले पहाडका साना तथा ठुला नदीहरूमा एक्कसी बाढी आउन सक्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ ।
देशका कन्काई, कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकालीमा पनि बहाव बढ्दो क्रममा रहेकाले त्यस क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ ।