काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आँखामा लाग्ने खस्रे रोग उन्मूलन गरेको भन्दै नेपाल सरकारलाई सम्मान गरेको छ ।
विश्व स्वास्थ्य संगठनको ७१औं महासभामा भाग लिन जेनेभा पुगेको नेपाली प्रतिनिधिमण्डल र विश्व स्वास्थ्य संगठनको उच्च अधिकारीहरु बीच भएको छलफलमा नेपाल सरकारलाई सम्मान गरेको हो ।
संगठनका महानिर्देशक डा.टेड्रोस अधानम देभ्रेयुसले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई प्रमाण-पत्रसहित सम्मान गरेका हुन् ।
प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुगेकी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानम देभ्रेयुस द्विपक्षीय छलफल भएको थियो ।
मन्त्री अर्यालले नेपालले हासिल गरेको उपलब्धि र यसमा विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकाका बारेमा डा. देभ्रेयुसलाई स्मरण गराएकी थिइन् ।
ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै नेपालले कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफुलाई खुशी लागेको भन्दै महानिर्देशक देभ्रेयुसले यसैगरी छिटै प्रमाण पत्र प्रदान गर्न पाउने कुरामा आफू विश्वस्त रहेको बताए ।