१२ माघ ०७५, बारा । जीप दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटना हुँदा पोखरेलको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल रहेका छन् । घाइते मध्ये प्रजिअ भट्टराईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो ।