२ बैशाख ०७४, ललितपुर । नेकपा (माओवादी केन्द्र)की कार्यालय सदस्य तथा प्रवक्ता पम्फा भुसालले जनतालाई अधिकार सम्पन्न गराउन स्थानीय चुनाव हुन लागेको भन्दै निर्वाचनमा भाग नलिनेलाई जनविरोधी भएको बताएकी छन् ।
जातीय मोर्चा विभाग नेकपा माओवादी केन्द्र ललितपुरले ठैवमा आयोजना गरेको नयाँ वर्ष २०७४ को शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा प्रवक्ता भुसालले स्थानीय तहको निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको निर्णय जनविरोधी भएको बताएकी हुन् ।
उनले निर्वाचनलाई संविधान संशोधनसँग जोडेर नहेर्न र चुनावमा भाग लिन मधेस केन्दि्रत दलहरुलाई पुनः आहृवान समेत गरेकी छिन् ।
प्रवक्ता भुसालले माओवादी केन्द्रले कतिपय ठाउँमा चुनावी तालमेल गरेर जाने रणनीति लिएको र मुद्धा मिल्ने राजनीतिक दलहरुसँग चुनावी तालमेल गरेर जान सकिने रणनीति तय गरिएको स्पष्ट पारिन् ।
प्रवक्ता भुसालले देशभर निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रम संचालन भइरहेको र ९ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिइन् ।