जगाती–कोटेश्वर सडकखण्डमा साउन १ गतेदेखि टाइम कार्ड !

निता पुन
३२ असार ०७५, भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जगाती–कोटेश्वर सडकखण्डमा साउन १ गतेदेखि टाइम कार्ड लागू गर्ने भएको छ ।

तीव्र गतिका कारण धेरै दुर्घटना बढेसँगै ट्राफिक प्रहरी महाशाखाले टाइम कार्ड लागू गर्ने भएको हो ।

टाइमकार्ड लागू भएपछि यस सडकखण्डमा ट्रक, टिपर, भ्यानलगायतका सवारी साधन प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ ।

महाशाखाकाअनुसार साउन १ गतेदेखि नै जगाती–कोटेश्वर सडक खण्डको बाँयातर्फ मालबाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका सवारी सञ्चालन गर्ने गरी योजना बनेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तकाअनुसार जगाती–कोटेश्वर क्षेत्रमा तीव्र गतिका कारण धेरै दुर्घटना बढेपछि उक्त निर्णय गरिएको हो ।

काठमाडौँ उपत्यकामा मात्र हाल ११ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् । महाशाखाले बिहान ८ देखि १२ र साँझ ३ देखि ८ बजेसम्म टिपर तथा ट्रकलाई उपत्यकाभित्र प्रवेशमा रोकसमेत लगाएको छ ।

तपाइको मत