७ मंसिर ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
गृहमन्त्री थापा र राजदुतबीच शुक्रबार गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालको राजदुतको रुपमा कार्यभार सम्हालेकोमा राजदुत बेरीलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल–अमेरीका सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।
गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।
भेटमा राजदुत बेरीले नेपाल र अमेरीकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, राजदुत बेरीले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापन लगायतका विषयमा चासो राख्नुका साथै नेपाल आउने अमेरीकी पर्यटकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने विषय उठाएका थिए ।