गण्डकी प्रदेश सरकार अल्पमतमा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

१ बैशाख ०७८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओली समूहमा खुलेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको दिएको समर्थन फिर्ता लिएपछि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

गण्डकीमा सरकार परिवर्तनका लागि प्रतिपक्षी दलहरूले भोलि बिहीबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी समेत गरेका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले राष्ट्रिय जनमोर्चाको निर्णय पर्खेका थिए ।

बुधबार गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएपछि विपक्षी दलहरू अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकार परिवर्तन गर्न भोलि नै अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने तयारी गरको र प्राविधिक हिसाबले नमिले पर्सीसम्म दर्ता हुने उनले जानकारी दिए ।

गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये एमालेको २७, सभामुखसहित माओवादी केन्द्रको १२ सांसद, नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे) मुख्यमन्त्री नजिक छन् ।