१० असोज ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले खुर्सिद आलमको हत्यारालाई कानुनको कठघारारमा ल्याई छाड्ने बताएका छन् ।
बुधबार गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भएको भेटमा सो कुरा बताएका हुन् ।
गृहमन्त्री थापाले भेटमा घटना लगत्तै छानविन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने बताए ।
गृहमन्त्री थापाले मृतक अन्सारीका परिवारका प्रति समवेदना प्रकट गर्दै घटनालगत्तै अन्सरीलाई सहिद घोषणा गरिसकेको र मृतकको परिवारलाई दिने भनिएको राहत रकम दुई÷चार दिनमै परिवारका सदस्यले पाउने जानकारी दिए ।
भेटमा सहभागी मृतक खुर्सिदका भाई जावेद आलम र काका जमिल आलमले घटना भएको एक हप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरिएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले घटनापछि खुर्सिदलाई लाञ्छना लगाएर नियोजित रुपमा मिडियामा आएको समाचारले आफूहरुलाई झनै पिडा थपिएको बताउँदै मृतक खुर्सिदलाई लगाईएको आरोप तथा आरोप लगाउनेहरुबारे समेत छानविन गर्नुपर्ने गृहमन्त्रीसँग माग राखेका थिए ।
खुर्सिदको सुनसरीमा अज्ञात समुहले असोज ४ गते हत्या गरेको थियो ।