१७ भदौ ०७४, काठमाडौं । मन्त्री बनेदेखि नै राम्रो कामको भन्दा पनि आफूले सम्हालेका मन्त्रालय मातहतका संस्थानबाट भएका काम कारवाहीका कारण आलोचनाका पात्र बनेका आपूर्तिमन्त्री शिवकुमार मण्डलले खाद्यान्नमा मिसावट र कालोबजारी गर्नेहरुलाई नछाड्ने चेतावनी दिएका छन् ।
मन्त्री मण्डलले रिपोटर्स क्लवमा शनिबार आयोजित कार्यक्रममा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति, व्यापारीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।
उनले दैनिक उपभोग्य वस्तुहरुमा घातक कुराहरु मिसावट भएको पाइएकाले कालोबजारीया, कृत्रिम अभाव र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति र ब्यापारीको नाम छिट्टै सार्वजनिक गरिने पनि बताए ।
मन्त्री मण्डलले दशैं-तिहार लगायत चाडका बेला कालोबजारी बढ्ने भएकाले बजार अनुगमनमा चासो देखाएका छन् ।
उनले दशैं, तिहार र छठ लगायतका चाडपर्वहरुलाई लक्षित गरेर सरकारले सुपथ मुल्यका पसलहरु सञ्चालनमा ल्याएको पनि बताए ।