सरकार दुई तिहाईको दम्भमा संवैधानिक व्यवस्था कमजोर बनाउन सक्रिय – डा.रिजाल
५ साउन ०७५ राजविराज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मिलेन्द्र रिजालले सरकारको दुई तिहाइको दम्भको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
शनिबार ३६औं विपी स्मृति दिवसको अवसर पारेर नेपाली काँग्रेस क्षेत्र नम्बर ४ सप्तरीले डाँक्नेश्वरी नगरपालिकामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दम्भको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
संवैधानिक व्यवस्था कमजोर बनाउन वर्तमान सरकार सक्रिय रहेको आरोप लगाउँदै नेता रिजालले भने, ‘सरकार बहुमतको अहङ्कार देखाएर संवैधानिक व्यवस्था कमजोर बनाउन सक्रिय देखिएको छ, काँग्रेसले यस्तो रबैयाको सशक्त प्रतिवाद गर्नेछ ।’
उनले सरकार कामप्रति रोष व्यक्त गर्दै जनविरोधी कामको विरोध गर्न पनि स्थान तोकेर सरकारले जनताको मुख थुन्ने काम गरेको बताए ।
डा. गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै उनले सरकारको उदासिनताले जनतालाई आतङ्कित बनाउने काम गरिरहेको बताए ।
क्षमता भन्दा बढी अतिथि भएपछि भत्कियो मञ्च !
विपी स्मृति दिवस कार्यक्रमका लागि बनाइएको मञ्चमा क्षमताभन्दा बढी अतिथिलाई आसन ग्रहण गराइएपछि भत्किएको थियो ।
कार्यक्रम विधिवत् शुरु हुन नपाउँदै मञ्च बाँस र काठको प्रयोग गरी बनाइएको मञ्चमा आसन ग्रहणको क्रम चलिरहँदा अचानक मञ्च भत्किएको हो ।
त्यतिबेला प्रमुख अतिथि डा. रिजाल सहित २४ जनाले आसन ग्रहण गरिसकेका थिए ।
उद्घोषक भूपेन्द्र यादवले मञ्च कमजोर भएको चाल नपाई थप नेताहरुलाई मञ्चमा आसनका लागि आमन्त्रण गरिरहकै बेला अचानक मञ्च अतिथिसहित ढलेको थियो । तर, संयोगले मञ्चमा आसिन अतिथिहरुलाई खासै चोटपटक लागेन ।
भत्किएकै मञ्चलाई काम चलाउ बनाई कार्यक्रम शुरु गरिएको थियो । मञ्च भत्किएपछि महासमिति सदस्य नारायण यादवले व्यवस्थापनका कमजोरीका कारण सो घटना भएको भन्दै क्षमा याचना गरेका थिए ।