२३ बैशाख ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी ऐक्यबद्धताको भावनाअनुरूप गरिब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत बनाउनु पर्ने बताएका छन् ।
सिंहदरबारस्थित एक्सन रूमबाट सोमबार असंलग्न आन्दोलनको सम्पर्क समूहको अजरबैजानमा आयोजित अनलाइन शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
संयुक्त राष्ट्रसंघका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ संकटले निम्त्याउन सक्ने सम्भावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई एक बलियो पुनस्र्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रहरूले सहकार्य र वकालत गर्नुपर्नेमा जोड दिएका थिए ।
विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभव साटासाट एवं प्रविधि, औषधिजन्य सामग्री तथा उपकरणहरूको आदानप्रदानको माध्यमबाट सहयोगलाई अभिवृद्धि गर्नुपर्ने भन्दै सम्बोधनकाक्रममा उनले भने, “विश्वव्यापी ऐक्यबद्धताको भावनाअनुरूप विश्वभरिका गरिब तथा अति जोखिमयुक्त जनसंख्याको आवाजलाई एकीकृत पार्नुपर्छ ।”
कोभिड–१९ विरुद्धको सामूहिक लडाइँका लागि सम्पर्क समूह स्थापनाको पहललाई स्वागत गर्दै प्रधानमन्त्रीले भने, “अहिले हामी साझा शत्रु कोरोनासँग लडिरहेका छौँ । यस्तो अवस्थामा मानव जीवनको रक्षा र मानवताको संरक्षण गर्नुभन्दा महत्वपूर्ण अर्को काम केही हुँदैन ।”
सन् १९६१ सेप्टेम्बरमा स्थापना भएको असंलग्न आन्दोलनको नेपाल संस्थापक राष्ट्र हो भने हाल सदस्य संख्या १२० पुगेको छ । यसले विश्वका कुनै पनि सैनिक गुटबन्दीमा नलागी पञ्चशीलको आधारमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दछ ।