कूटनीतिक सम्बन्धको ६५औँँ वर्षगाँठको अवसरमा नेपाल र चीनबीच शुभकामना आदान-प्रदान

१७ साउन ०७७, काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँँ वर्षगाँठको अवसरमा दुबै देशका राष्ट्रपतिले बधाई तथा शुभकामना सन्देश आदानप्रदान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर नेपाल र चीन मैत्री सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति सी, चीन सरकार र चिनियाँ जनतालाई हार्दिक बधाई दिँदै राष्ट्रपति भण्डारीले सीले गत अक्टोबरमा गरेको नेपालको राजकीय भ्रमण, मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारी  समेत स्मरण गरेकी छन् ।

उनले नेपालको सामाजिक-आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभवको प्रशंसा गरेकी छन् ।

यस्तै चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल–चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताएका छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश दिँदै शनिबार जारी सन्देशमा आफू दुई देशबीच निरन्तर विकसित हुँदैआएको द्विपक्षीय सम्बन्धलाई अग्रगति दिन नेपाली समकक्षीसँग संयुक्तरुपमा काम गर्न इच्छुक रहेको बताएका छन् ।

दुबै देशका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले पनि नेपाल र चीन कूटनीतिक सम्बन्ध स्थापना भएको अवसरमा बधाई साथै शुभकामना सन्देश आदान–प्रदान गरेका छन् ।