२४ असार ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालाले जानकारी नगराएकोले फर्काउनु परेको बताएका छन् ।
आइतबार राष्ट्रियसभाकोे बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै गृहमन्त्री थापाले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि उपकुलपति प्रा डा कोइराला जानकारी विना क्यानडा जान लागेकाले फर्काउनु परेको स्पष्ट पारेका हुन् ।
बैठकमा कांग्रेसका बद्रीप्रसाद पाण्डेले कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेको विषयलाई लिएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको बताएका थिए ।
उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोलीसहित क्यानडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा फर्काएको थियो ।