किन चाहियो संविधान, किन चाहियो जनादेश – प्रचण्ड

७ साउन ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा राजनीतिक बितण्डा सह्य नहुने बताएका छन् ।

सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष प्रचण्डले शिक्षमा राजनीतिक बितण्डा सह्य नहुने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले शिक्षालाई निहुँ बनाएर विपक्षी दलले राजनीतिक अराजकता फैलाउन डा. गोविन्द केसीको अनशनलाई अस्त्र बनाउन प्रयत्न गरेको बताए ।

डा. केसीका सम्बन्धमा वार्ता गर्न खोज्दा पनि विरोध गर्ने विपक्षी दलहरुले चाहेको के हो ? भन्दै प्रचण्डले प्रश्न गरे, ‘केही व्यक्तिले भन्दैमा हुनै पर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश ?’

नेपालमा कम्युनिष्टहरु बलियो भएको देख्न नचाहने देशी–विदेशी बुर्जुवाहरुले डा.केसीको अनशनलाई राजनीतिकरण गरेको प्रचण्डले आरोप लगाए ।

अर्को, प्रसङ्गमा अध्यक्ष प्रचण्डले शिक्षामा सामान्य नभई आमूल परिवर्तन आवश्यक रहेकाले शिक्षकहरु त्यस दिशामा लाग्नु पर्ने बताए ।

शिक्षकहरुको विगतको भूमिकामा परिवर्तन आवश्यक रहेको भन्दै उनले शिक्षामा आमूल परिवर्तनले मात्रै समाजवादको परिकल्पना साकार हुने जिकिर गरे ।

कार्यक्रममा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई कारण बनाएर केही अराजक समूहले शिक्षालाई अस्तव्यस्त पार्न खोजेको आरोप लगाए ।

चिकित्सा शिक्षाका समस्या समाधानमा काम हुँदा हुँदै बीचमै अनशन बसिएको प्रति मन्त्री पोखरेलले आक्रोश व्यक्त गरे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकहरुलाई सूचना प्रविधिमैत्री बनाउनका साथै शिक्षण सिकाइलाई प्रविधियुक्त र सीपमूलक बनाउन पाँच दिने सूचना प्रविधि कार्याशाला सञ्चालन गरिएको जानकारी दिए ।

अध्यक्ष अधिकारीले देशभरका दुई सय जना बढी शिक्षकहरुको सहभागिता रहेको कार्याशाला पाँच दिनसम्म सञ्चालन हुने बताए ।

तपाइको मत