४ मंसिर ०८०, काठमाडौंँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबारदेखि लागू हुने गरी माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको बताए ।
उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३, क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको बताए ।
उनले पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए ।
त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
नेकपा एमाले र दुर्गा प्रसाईंले मंसिर ७ गते जनप्रदर्शन गर्ने घोषणा गरेका थिए ।