१५ भदौ ०८०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपाको स्थायी कमिटी बैठकले एमसीसीको विरोधमा संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नेकपाको स्थायी कमिटी सदस्य अनिल शर्मा बिरहीले दिएको जानकारीअनुसार शुक्रबार बसेको बैठकले काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधमा संयुक्त गोष्ठी हुनेछ ।
शर्माले असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गरिने साथै मार्चपासमा सामना साँस्कृतिक टोली सहभागी हुने पनि बताए ।
यस्तै उनले त्यसपछि बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरिने बताएका छन् ।