देवराम यादव । ६ भदौ ०७५, राजविराज । मुस्लिम धमावलम्बीहरुको दोश्रो ठुलो चाड इद–उल–जोहा (वकर–इद) वुधवार धुमधामका साथ मनाईएको छ ।
यसअवसरमा सदरमुकाम राजविराज स्थित नुरीजामा मस्जिदका साथै जिल्लाको तरही, विषहरीया, तोपा, रायपुर, कल्याणपुर, झलही फर्सैठ, पकरी, हनुमाननगर, कञ्चनरुप लगायतका मस्जिदमा विहानै मुसलमान धर्मावलम्बीहरुले पवित्र नमाज पढ्दै र एक आपसमा बधाई साटासाट गर्दै पर्व मनाएका हुन् ।
नमाज पढेपछि घरमा विभिन्न परिकार बनाई आफन्तसँगै इस्टमित्रलाई निमन्त्रणा गरी आफनो घरमा खुवाएका थिए । यस क्रममा मुस्लिम समुदायले आफ्ना हिन्दु मित्रलाई पनि घरमै बोलाएर खुवाउँदै धार्मिक सद्भावको उदाहरण प्रस्तुत गरेका थिए ।
मुस्लिम समुदायका साथै हिन्दु मित्रसँग पनि उनीहरुको दिनभर बधाई साटासाटको क्रम चलिरह्यो । यसै राष्ट्रिय मुस्लिम समाजका केन्द्रिय सचिव हासिम अन्सारी, मुद्धि मोहरम जनकल्याण ट्रस्टका सचिव इर्साद अन्सारी र राजविराज नगरपालिकाका अध्यक्ष मो. अख्तरवावा सिद्धिकीले छुट्टाछुट्टै प्रेस विज्ञप्ति मार्फत वकर इदको अवसरमा प्रदेश दुईको सरकारले सार्वजनिक विदा घोषणा गरेर मुस्लिम समुदायको सम्मान गरेको भन्दै खुसी र धन्यवाद ब्यक्त गरेका छन् ।
यस्तै सोहि विज्ञप्ति मार्फत आगामी दिनमा संघिय सरकारले पनि देशभरका मुस्लिम समुदायले खुसीयालीका साथ पर्व मनाउने गरी यस दिन सार्वजनिक विदा दिनुपर्ने माग गरेका छन् ।