उपसचिव छोराबाट ठगिएपछि बुबा–आमा न्यायको खोजीमा !

निकेश खनाल

बर्दिबास । महोत्तरीको बर्दिबास वडा नं. १ घर भएका ७९ बर्षीय पूर्णबहादुर घिमिरे र उनकी श्रीमती टंक कुमारी घिमिरे आफ्नै कान्छो छोरा निर्मल घिमिरेबाट ठगिएका छन् ।

शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरमा उपसचिव पदमा कार्यरत कान्छो छोरा घिमिरेबाट उनका बुबा–आमा ठगिएका हुन् ।

स्रोतका अनुसार तीन भाइ छोरालाई बराबर अंशबण्डा गरी दिएपछि कान्छा छोरा निर्मलले बुबा–आमालाई ‘म पाली हाल्छु नी ! मसँग बस्नु पर्छ’ भनी उनीहरुको नाममा रहेको सम्पति समेत आफ्नै नाममा गरेका थिए ।

निर्मलले सम्पति आफ्नो नाममा गरेपछि बिस्तारै बुबा–आमाले बसोबास गरेको घर समेत अर्कैलाई बहालमा दिएर घरबाट निकालेपछि घिमिरे दम्पतीको बिचल्ली भएको हो ।

आफूहरुको बिचल्ली भएपछि पीडित बुबाआमाले छोरा निर्मलविरुद्ध शुक्रबार वडा नं. १ को कार्यालयमा निवेदन दिएका छन् ।

विं सं. २०१५ देखि कम्युनिष्ट आन्दोलनमा होमिएका पूर्ण बहादुरले कम्युनिष्ट पार्टीका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई आफ्नो दुःख गुनासो राखे पनि सुनुवाइ नभएपछि बर्दिबास नगरपालिका वडा नं. १ मै रहेको श्री देउराली माध्यामिक विद्यालयका प्रधानाध्यापक केदार बहादुर कोइरालालाई भेट्न गए ।

कोइरालाकै सल्लाहअनुसार ‘जग्गा फिर्ता गराई सुरक्षित बसोबास गर्ने’ भन्ने विषयमा वडा कार्यलयमा निवेदन दर्ता गराउन घिमिरे दम्पती पुगेका छन् ।

घिमिरे दम्पतीको निवेदन बुझ्दै वडा नं. १ का वडा अध्यक्ष चुडामणि पोखरेलले घिमिरे दम्पतीलाई न्याय दिलाउने कुरामा आफू र वडा कार्यालयले कुनै कन्जुस्याँई नगर्ने बताएका छन् ।

निवेदन दर्ता गराए पनि आफूले न्याय पाउने कुरामा आफूहरु विश्वस्त नभएकाले घिमिरे दम्पती चिन्तित मुद्रामा वडा कार्यालय परीसरबाट बाहिरिएका छन् ।

घिमिरे परिवार २०६० सालमा सिन्धुलीको भिमानबाट बसाँइसराँइ गरी साबिकको बर्दिबास गाविस वडा नं. ७, हालको बर्दिबास नगरपालिका १ मा बसाँइसराँइ गरी बर्दिवास आएका हुन् ।

घिमिरे दम्पतीका कान्छा छोरा निर्मल घिमिरे विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारी हुँदै हाल शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षक सेवा आयोग सानोठिमी भक्तपूरमा उपसचिव पदमा कार्यरत छन् ।

तपाइको मत