२८ असोज ०७९, कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज पोखरा रंगशालामा हुँदैछ ।
पर्यटकीय नगरी कास्कीको पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ३ः३० बजे गर्ने कार्यक्रम रहेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रचार-प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले दिएको जानकारीअनुसार उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको छ ।
उनले नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने पनि बताए ।
वि.सं. २०३८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा भएको थियो ।