उपत्यकामा अब राति ८ बजेपछि मात्र टिपर चलाउन पाउने

२७ असार ०७५, काठमाडौं । सरकारले उपत्यका भित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा दिउँसो टिपर चलाउन नपाइने व्यवस्था ल्याएको छ ।

गृह मन्त्रालयले ट्रिपरका कारण सवारी दुर्घटना बढेको भन्दै दिउँसो टिपर चलाउन नपाउने व्यवस्था ल्याएको हो ।

गृहमन्त्रलायले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई साउन १ गतेदेखि कार्यान्वय गर्ने गरी निर्देशन समेत दिइसकेको गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले बताए । टिपर राति ८ बजेदेखि बिहान ५ बजेसम्म चलाउन दिने या ७ बजेसम्म भन्ने विषयमा चाहिँ छलफल भइरहेको बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् । ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले यसमा चासो देखाएको हो ।

तपाइको मत