१३ चैत ०७६, सुनसरी । आज लकडाउनको तेस्रो दिन सुनसरीमा सरकारको निर्देशन पूर्णरुपमा पालना भएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश १ अध्यक्ष टीकाराम प्रसाईंले सुनसरीमा फलफूल, तरकारी, खाद्यान्न बोक्ने अत्यावश्यक सवारी साधन र सुरक्षाकर्मीका गाडीहरु बाहेक सवारी साधन सडकमा नगुडेको बताएका हुन् ।
अध्यक्ष प्रसाईंले लकडाउन सफल बनाउन आम जनसाधरण र खाद्य व्यवसायी समेतले सरकारलाई सहयोग गरिरहेको बताए ।
उनले जिल्लामा रहेको सबै उद्योग कलकारखानाहरु पूर्णरुपमा बन्द भएको र सुरक्षाकर्मीहरुले सरकारको आदेश अवज्ञा भए नभएको अनुगमन गरिरहेको बताए ।
यस्तै अन्टुफ प्रदेश ४ का अध्यक्ष रुद्र गौतमले जनतालाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दैमा र घरमा बस्दैमा कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रण नहुने बताए । यद्यपि, उनले प्रदेश ४ मा आम नागरिकले सरकारको निर्देशनलाई पूर्णरुपमा पालना गरिरहेको बताए ।
“आम नागरिकले सरकारको निर्देशन पूर्णरुपमा पालना गरेका छन्” गौतमले भने, “तर सरकारले जनताप्रति खेल्नुपर्ने भूमिका खेल्न सकेको देखिँदैन् ।”
अध्यक्ष गौतमले कोभिड १९ रोकथाम र नियन्त्रण गर्ने नाममा आम नागरिकका कोणबाट तीनै तहका सरकारले मूलतः प्रदेश र स्थानीय सरकारले आवश्यकीय र प्रभावकारी भूमिका खेल्न नसकेको बताए ।
यसैगरी अन्टुफ कर्णाली प्रदेश अध्यक्ष ललित जिएमले भारत लगायतका स्थानहरुबाट घर फर्किएकाहरु मध्ये सुर्खेतको होटल अशोकामा ७२ जना र टेन्टमा बनाएर ४२ जनालाई कर्णाली प्रदेश सरकारले खर्च व्यहोर्ने गरी १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको बताए ।
उनले सडकमा अलपत्र परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फते व्यवस्थापन गर्ने कार्य भइरहेको जानकारी दिए ।
त्यस्तै अन्टुफ सूदुरपश्चिम प्रदेशका इन्चार्ज नरहरि नाथ योगीले सूदुरपश्चिमका सबै नाकाहरु पूर्णरुपमा बन्द रहेको बताउँदै लकडाउन कार्यान्वयन भएको बताए ।
उनले साँझ बिहानको समयमा अत्यावश्यक किनमेलका लागि केही दोकानहरु खुल्ने गरेको जानकारी दिए । साथै, सुरक्षाकर्मीहरुले निगरानीका साथै बजार अनुगमन गरिरहेको पनि बताए ।