४ पुस ०७५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारसँग आवास सुविधा माग गर्ने उद्योगीले मजदुरलाई बिर्सिएको बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बुधबार उद्योगी व्यवसायी र सरोकारवाला मन्त्रीलाई सिंहदरबारमा बोलाएको छलफलमा मन्त्री बिष्टले यस्तो बताएका हुन् ।
चिया बगानमा सरकारबाट आवास सुविधा माग गर्ने चिया उद्योगीले मजदुरलाई बिर्सिएको भन्दै श्रममन्त्री विष्टले भने, ‘ऐनको व्यवस्था र सरकारले ल्याएको कानुन मान्दैनौं भन्ने तागत कसरी आयो ?’
सरकारले नयाँ युगको सुरुवात भएको भन्दै ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा चिया उद्योगको २० प्रतिशत सहभागितासमेत हुन नसक्ने भन्दै चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवालले योजना कार्यान्वयन गर्न नसकिने बताएपछि आक्रोशित मन्त्री बिष्टले भने, ‘सरकारको प्रतिनिधिको हैसियतले भन्छु, सामाजिक सुरक्षा कार्यक्रम चिया उद्योगमा पनि लागू हुन्छ ।’
‘सरकारको निर्णय मान्दैनौं भन्नुको अर्थ के हो ?’ मन्त्री विष्टले चिया उत्पादक संघका अध्यक्ष अग्रवाललाई प्रश्न गरे, ‘आफ्ना माग गर्जेर राख्नुभयो, श्रमिकका लागि त एउटा माग राख्नुभएन ।’
मन्त्री विष्टले उद्योगीको प्रवृत्ति सरकारसँग माग्ने तर श्रमिकका पक्षमा केही नगर्ने रहेको भन्दै मेसिनरीसहित सबै कुरा माग्ने उद्योगीले डिजेल माग्न छुटाएको भन्दै व्यङ्गय समेत गरेका थिए ।
बहस र छलफलमात्रै भएको बिहान ११ बजेदेखि करिब ४ बजेसम्म चलेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, अर्थमन्त्री डा. युवराज खतिवडाको सहभागिता रहेको थियो भने कृषि विकास मन्त्री चक्रपाणि खनालको प्रतिनिधित्व सचिव युवकध्वज जीसीले गरेका थिए ।