२६ माघ ०७५, काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको २ वर्षदेखि रोकिएको तलब सुविधा एकमुष्ट निकासा गरेको छ ।
आईसीसीले राष्ट्रिय खेलकुद परिषद (राखेप)को खातामा १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ जम्मा गरेको हो । राखेप सदस्यसचिव केशव कुमार विष्टको पहलमा खेलाडीको तलब बापतको रकम निकासा भएको हो ।
हालै यूएईमा भएको एकदिवसीय र ट्वान्टी–२० शृङखला जितेर फर्किएपछि नेपाली खेलाडीले विमानस्थलमै लामो समयदेखि तलब नपाएकोमा गुनासो गरेका थिए । कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटासँगको सल्लाहमा राखेपले खेलाडीको वर्गीकरण पुनःमूल्यांकन गरी आईसीसीमा पठाएको थियो । जस अनुसार २१ जना क्रिकेटरलाई ३ तहमा विभाजन गरिएको थियो ।
श्रेणी ‘क’ मा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी छन्। उनीहरुले मासिक ३५ हजार रुपैयाँ तलब पाउँछन् । उनीहरुका लागि २ वर्षको ५८ लाख ८० हजार रुपैयाँ आईसीसीले निकासा गरेको छ ।
श्रेणी ‘ख’मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन्। उनीहरुले मासिक २५ हजार रुपैयाँ पाउनेछन्। यस श्रेणीका खेलाडीका लागि आईसीसीले २ वर्षको तलवस्वरुप ४२ लाख रुपैयाँ निकासा गरेको छ ।
श्रेणी ‘ग’ मा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनील धमला, शुसान भारी, किशोर महतो र विनोद भण्डारी छन्। उनीहरुको मासिक १५ हजार तलब अन्तर्गत २ वर्षको २५ लाख २० हजार रुपैयाँ निकासा भएको छ ।
तीन वर्षअघि घरेलु क्रिकेटको नियमक निकाय नेपाल क्रिकेट संघ क्यान निलम्बन परेपछि खेलाडीको सुविधामा आईसीसीले जिम्मा लिएको थियो । निलम्बनपछिको एक वर्षको तलब पठाए पनि बाँकी दुई वर्षको तलब आएको थिएन ।
राखेपले ३ पटकसम्म तलब निकासा गर्न आईसीसीलाई ताकेता गरेको थियो । सुरुमा दुई किस्ता गरेर भुक्तानी गर्ने भनिए पनि आईसीसीले २ वर्षको एकमुष्ठ पठाएको हो ।