२८ जेठ ०७५, रौतहट । गत शनिवार राति अपहरणमा परेका १३ वर्षीय बालक युवराज साहको गोली हानेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
सोमबार बिहान गढीमाई नगरपालिका ५ को बाग्मती नदी किनारमा अपहरित बालकको शव फेला परेको हो ।
बालक अपरहणमा परेपछि अपहरणकारीले बालकका बाबु दिलिप साहको मोबाइलमा फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए । अपहरणकारीले १ करोड रुपैयाँ मागेको भोलिपल्ट नै बालकको शव परेको हो ।
बालक हराएको खबर पाएलगत्तै खोजतलासमा जुटेको प्रहरीले सोमबार बिहान युवराजको शव फेला पारेको थियो । बालकको कन्चटमा गोली प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा वृन्दावन नगरपालिकाका विनोद कुमार पटेल, रवी कुमार पटेल, कटहरीया ९ डुमरियाका प्रविण राय यादव, शक्ति राय यादव र सुनिल कुमार यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनासँग घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको कटहरीया ९ डुमरिया टोलका चिकित्सक दिलिप साहको छोरा युवराज शनिवार राति घरमा परिवारका सदस्यहरुसँगै सुतिरहेकै अवस्थामा हराएका थिए ।