१३ बैशाख ०७५, काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्किँदा मंगलबादेखि हराएका मलेसियन नागरिक वि किन चिनको शुक्रबार बिहान सिम्रिक एयरको हेलिकोप्टरले उद्धार गरेको छ । उनको अहिले काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार हुँदैछ ।
आठ हजार मिटरभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किंदा वि किन चिन हराएको खबर बुधबार साँझ मात्र थाहा पाएपछि बिहीबार उज्यालो हुनासाथ क्याप्टेन सिद्धार्थजंग गुरुङ सिम्रिक एयरको हेलिकोप्टर लिएर त्यतातिर उडेका थिए ।
बिहीबार बिहान उडेका सिम्रिकका हेलिकोप्टर अन्नपूर्ण प्रथमको आधार शिविरमा पुगेको थियो । हेलिकोप्टर देखेर हात हल्लाइरहेका चिनलाई सिद्धार्थजंगले देखेपछि एयरलाईन्समा खवर गरेको र क्याप्टेन विवेक खड्का नेतृत्वको लङलाइन उद्धार टोलीले उनलाई उद्धार गरेको सिम्रिकका मार्केटिङ हेड योगेश सापकोटाले जानकारी दिए ।
काठमाडौंबाट उडेको हेलिकोप्टरले आधार शिविरभन्दा केही माथि नै उद्धारमा दक्ष शेर्पा टोलीलाई झारेको र शेर्पा टोली ती पर्यटक भएका ठाउँसम्म पुग्न ४ घन्टा भन्दा बेसी लागेको थियो । शेर्पाहरुको टोलीले पहिला ती पर्यटकलाई बोकेर केही तल हेलिकोप्टर आउनसक्ने ठाउँसम्म ल्याई डोरीमा झुन्ड्याएर सुरक्षित स्थलमा अवतरण गराइएको थियो । डोरीमा झुन्ड्याएर गरिने उद्धारलाई लङलाइन रेस्क्यु भनिने सापकोटाले बताए । सुरक्षितस्थलबाट आरोहीलाई अस्पतालसम्म हेलिक्प्टरले ल्याएको थियो ।
उनी हराएपछि बिमा कम्पनी ’ग्लोबल रेस्क्यु’ खोजी कार्यमा बेवास्ता गरेपछि उनकी श्रीमती चिनले आफ्ना श्रीमानको खोजी गर्न नेपालको सिम्रिक एयर गुहारेकी थिइन् ।