८ साउन ०७७, काठमाडौं । सर्वोच्चले न्यायालयका मुद्दाको हद म्यादको समय भदौ १ गतेबाट सुरु हुने बताएको छ ।
चैत ११ गतेदेखि सुरुभएको बन्दाबन्दी साउन ६ गते मध्यरातदेखि अन्त्य भए पनि भदौ १ देखि मात्रै लामोदरीका सवारी साधन चल्ने भएपछि अदालतले दुई चरणमा म्याद हदम्याद कायम गर्ने गरी अदालतको नियमित कारबाही पुनः सञ्चालन गर्ने जानकारी दिएको हो ।
अदालतले उपत्यकाका हकमा हाल बन्दाबन्दी अन्त्यको समयलाई नै आधार मानेर ३० दिनको समय म्याद तथा हदम्यादका लागि दिने भएको छ । यस्तै सर्वोच्चले मातहतका अदालतमा समेत सोहीअनुसार व्यवस्थापनका लागि परिपत्रको तयारी गरेको छ ।
सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले अदालतको यसअघिका फैसलालाई समेत आधार बनाएर नयाँ परिपत्र जारी गरिने बताएका छन् ।
बन्दाबन्दीका विषयमा सर्वोच्चको बृहत पूर्ण इजलासको फैसला र सरकारको निर्णयअनुसार दुई मोडालिटीमा सेवा प्रवाह गर्ने नीति लिएको भन्दै उनले सेवा पाउने स्थानसम्म सेवाग्राहीले आवतजावत गर्न सक्ने अवस्था बनेपछि मात्र पूर्णरूपमा बन्दाबन्दी खुलेको मानिने फैसलामा उल्लेख रहेको बताए ।
नेपाल सरकारले भदौ १ गतेबाट लामो दूरीका समेत सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै अदालतले यसअघि चैत ९ गतेपछि बन्दाबन्दी कायम रहेको अवधिसम्मका दिन तारेख लिनुपर्ने मुद्दाको नयाँ तारिख लिने समय तोकेको छ । साउन ११ गतेदेखि चरणबद्धरूपमा तारिख लिने समय तोकिएको छ ।
यसैगरी बन्दाबन्दीका कारण फिरादपत्र, अभियोगपत्र, प्रतिउत्तरपत्र दायर गर्ने, बयान, पुनरावेदनका निवेदन गर्न समय बाँकी रहेका तर हदम्याद र म्याद गुज्रेकाको हकमा पनि बन्दाबन्दी खुलेको ३० दिनको समय नै लागू हुने छ । अदालतले सेवाग्राही बसोबास गर्दै आएको जिल्लामा बन्दाबन्दी खुलेको तर सेवा प्राप्त गर्नुपर्ने जिल्ला वा गाउँ वा नगरपालिकामा बन्दाबन्दी कायम रहेको अवस्थामा कार्यालय खुलेको नमान्ने फैसलामा उल्लेख छ ।